कुल ११२१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको नुवाकोट एक ऐतिहासिक जिल्ला हो । राष्ट्रनिर्माता पृथ्वी नारायण शाहद्धारा एकीकरणको पाइला राखेको यस जिल्ला नेपालको मानचित्रमा मध्यभागमा अवस्थित रहेको छ । कुनै पनि प्रदेश सिमाना तथा अन्तर्राष्ट्रिय सिमानालाई नछुने यो जिल्ला अर्ध-चन्द्राकार रुपमा पूर्व-पश्चिम फैलिएर रहेको छ । हिमाली क्षेत्रको दक्षिणी ढाल, उच्च पहाडी पठार, टार, बेसी र समथर भुभागको समिश्रण नुवाकोट जिल्लाको भौगोलिक विशेषता हो । उत्तरमा रसुवा र धादिङ, दक्षिणमा धादिङ र काठमाडौं, पूर्वमा सिन्धुपाल्चोक र काठमाडौं र पश्चिममा धादिङ जिल्ला रहेको छ । यस समुद्री सतहबाट ४५७ मिटर देखि ५१४४ मिटर उचाईमा रहेको यस जिल्ला २७ डिग्री ४५ मिनेट देखि २८ डिग्री २० मिनेट उत्तरी अक्षांशसम्म र ८५ डिग्री देखि ८५ डिग्री ४५ मिनेट पूर्वी देशान्तरसम्मको अवस्थितिमा रहेको छ ।
मल्लकालीन समयमा शक्तिशाली राज्यको रुपमा रहेको यस जिल्लालाई त्यसबखत पश्चिम नेपालको मूल ढोका, नेपाल भाेट (तिब्बत) वाणिज्य व्यापारको मुलद्वार भनिन्थो । नवकोट, नवकोट्य, नवक्वाथ्य, नौकाेटबाट अप्रभंश भई नुवाकोट नामाकरण भएको बुझिन्छ । नाै कोटः बेलकोट, मालाकोट, भैरुमकोट, धुवाँकोट, कालिकाकोट, सल्यानकोट, सिमलकोट, धैबुङकोट र प्यासकोट मिली नुवाकोट नाम रहन गएको हो। हाल सल्यानकोट र धुवाँकोट धादिङ जिल्लामा र धैबुङकोट रसुवा जिल्लामा पर्दछ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले एकीकरणको विजयी सुरुवातसँगै नुवाकोटलाई राजधानी (वि.सं. १८०१-वि.सं. १८२५) घोषित गरेका थिए । यसैक्रममा नाै तले दरबार (वि.सं. १९९० को महाभुकम्पको कारण दुई तला भत्किएपछि साततले दरबारको रुपमा चिनिएको) को निर्माण गरेका थिए । पछि गएर गिवार्णयुद्ध विक्रम शाहले पनि शीतकालीन राजधानीको रुपमा नुवाकोटलाई राजधानी बनाएको भन्ने ऐतिहासिक इतिहास रहेको तथ्य पाइन्छ ।
दुप्चेश्वर महादेव, जालपादेवी मन्दिर, नुवाकोट भैरवी, पन्चकन्या मन्दिर, राम मन्दिर बट्टार, उग्रतारा, भैरवकोट, उत्तरगया आदि स्थल यस जिल्लाको धार्मिक स्थलको रुपमा परिचित रहेको छ । विजयादशमी, दिपावली, ल्होछा र, माघेसंक्रान्ति, साउने सक्रान्ती, तिज, जनैपुर्णिमा, कृष्णाष्टमी, बुद्धपुर्णिमा, धान्यपुर्णिमा, इद आदि प्रमुख चाडपर्व हुन् । गाईजात्रा, सिन्दुरेजात्रा, देवीनाच, लाखेनाच, वैशाखपुर्णिमायात्रा, एकादशीयात्रा, विवाहपञ्चमी, तारुका गोरुजुधाई, दुप्चेश्वर मेला आदि यहाँको प्रमुख जात्रा हुन् ।
त्रिशुली र तादी जस्ता मुख्य नदि साथै सलाखु, फलाखु, लिखु, कुमरी, सिन्दुरे, छत्रे, कोल्पु आदि साना नदी र सूर्य कुण्ड, सागरकुण्ड, बोल्दही ताल आदि यहाँको जलाधार क्षेत्र हुन् । बट्टार, पिपलटार, गेर्खुटार, खरानीटार, समुन्द्रटार, शहरेटार, तारुकाटार, आँगुटार, दर्शनटार, कोल्पुटार, दर्शनटार आदि होचो भू-भागमा रहेको टारहरु हुन् । लाङटाङ राष्ट्रिय निकुञ्ज र शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज गरी दुईवटा राष्ट्रिय निकुञ्ज रहेको छ ।
नुवाकोट जिल्लामा भौगोलिक विविधता धेरै भएकोले नेपालमा पाइने सबै किसिमका जलवायु पाइन्छ । दक्षिणी तथा टार क्षेत्रमा उष्ण र उपाेष्ण जलवायु पाइन्छ भने पहाडी र लेकाली क्षेत्रहरुमा समशितोष्ण र लेकाली जलवायु पाइन्छ । साथै उच्च पहाडी क्षेत्रका केही स्थानमा शीतोष्ण जलवायु समेत पाइन्छ ।
व्यावासायिक रुपमा बट्टार, त्रिशुली, देवीघाट, खरानीटार, आँप्रह, ढिकुरे, बेत्रावती, समुन्द्रटार, सातबिसे, नुवाकोट, छहरे, चाेगते, लच्याङ, रानीपौवा, ककनी, फलाँटे, देउराली, सामरी, माछापोखरी, महादेवफाँट आदि स्थानहरु प्रख्यात रहेको छ ।
ककनी, रानीपौवा, नुवाकोट साततले दरबार, घ्याङस्वारा, बागमारा, राम्चेडाँडा, चिम्टेश्वर, सागरकुण्ड, दुप्चेश्वर महादेव मन्दिर, देवीघाट, सुर्यचाैर, उत्तरगया, गोसाइकुण्ड पदमार्ग आदि पर्यटकीय हिसाबले प्रचुर सम्भावना रहेको क्षेत्रहरु हुन् ।
नेपालको संविधान २०७२ सालको कार्यान्वयन पश्चात स्थानीय तहको पुनःसंरचना मार्फत साविकको ६१ वटा गाउँ विकास समितिलाई २ नगरपालिका र १० गाउँपालिका गरी १२ वटा स्थानीयतह मा विभाजित गरिएको छ । हाल ८८ वटा वडामा विभाजित यस जिल्लामा दुई वटा संघीय क्षेत्र तथा ४ वटा प्रादेशिक क्षेत्र रहेका छन् ।

